‘टिका: स्टेटलेस सोल’ भदौ २६ मा रिलिज हुने

0 Shares

काठमाडौँ । भविष्य फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र ‘टिका: स्टेटलेस सोल’ को प्रदर्शन मिति तय गरिएको छ। नारीप्रधान विषयवस्तुमा आधारित यो फिल्म आगामी भदौ २६ गते, तीज पर्वको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको हो।

फिल्मको वितरण तथा प्रदर्शन अधिकारका लागि श्रीराम बालाजी फिल्म्ससँग सम्झौता गरिएको छ। वितरण कम्पनीका प्रमुख सुनिल मानन्धर रहेका छन्।

निर्माण टिमका अनुसार फिल्मले महिलाले समाजमा भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्नेछ।

फिल्ममा महेश त्रिपाठी, ऋचा शर्मा, वर्षा सिवाकोटी र भेट्रान हास्य कलाकार निर्मल शर्मा प्रमुख भूमिकामा देखिनेछन्।

निर्देशक शंकर कार्कीको निर्देशनमा बन्ने यो फिल्म यही वैशाख तेस्रो साताबाट छायांकनमा जाने तयारीमा छ। हाल वर्कसप सकिएपछि स्क्रिप्ट फाइनल र लोकेशन छनोटको काम भइरहेको छ।

निर्माण र टिम

फिल्म सुपरहिट ‘जेरी अन टप’ की निर्मात्री भविष्य खड्का हुन्। पटकथा विश्वास तिम्सिना (बिटी कान्छा)ले लेखेका छन्। गत वर्षको फिल्म ‘जेरी अन टप’ पछि भविष्य र बिटी कान्छाको यो दोस्रो सहकार्य हो।

फिल्ममा संगीत कालीप्रसाद बाँस्कोटाको रहनेछ। कार्यकारी निर्माता तेजविक्रम केसी रहेका छन्।

निर्माण टिमले ‘टिका’लाई महिलाको शक्ति, संघर्ष र आत्मनिर्भरता झल्काउने सामाजिक कथाका रूपमा प्रस्तुत गर्ने जनाएको छ।

सम्बन्धित समाचार

सबै