‘मालती मंगले’को ट्रेलर सार्वजनिक, प्रेम–संघर्ष र सामाजिक यथार्थको झलक

0 Shares

काठमाडौँ । आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमा हलमा विशेष समारोह आयोजना गर्दै निर्माण पक्षले ट्रेलर दर्शकमाझ ल्याएको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार विजय बराल, वर्षा राउतमेक्सम गौडेलसहित निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय र कार्यकारी निर्माता सागर ज्ञवाली लगायत टिमको उपस्थिति रहेको थियो।

सार्वजनिक ट्रेलरले ‘मालती मंगले’लाई पारिवारिक र सामाजिक कथावस्तुमा आधारित फिल्मका रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम सम्बन्ध, त्यसमा आउने दरार तथा पारिवारिक खटपटलाई मुख्य रूपमा देखाइएको छ।

मेक्सम गौडेललाई हरि नामक नकारात्मक चरित्रमा प्रस्तुत गरिएको छ। साथै साथीभाइबीचको सम्बन्ध र त्यसमा आउने उतारचढाव पनि ट्रेलरमा समेटिएको छ।

ट्रेलरमा छोरा र छोरीबीच हुने लैङ्गिक विभेदको विषयलाई पनि उठाइएको छ।

विशेष रूपमा चर्चामा आएको संवाद “नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्” ले समाजमा इज्जत र देखावटी जीवनप्रतिको दबाबलाई गहिरो रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमा फिल्मका लोकप्रिय गीतहरू ‘झ्याम पारम’ र ‘सुनैको सपनी’का अंशहरू पनि समावेश गरिएका छन्, जसले दर्शकमाझ थप आकर्षण बढाएको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन्।

पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।

फिल्ममा विजय, वर्षा र मेक्समसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ।

छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, रङ्ग संयोजन कृष्ण भण्डारी, ब्याकग्राउन्ड म्युजिक सुजिल कर्माचार्य र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका छन्।

फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

निर्माण पक्षले ‘मालती मंगले’ले दर्शकलाई पारिवारिक भावना, प्रेम र सामाजिक यथार्थसँग जोड्ने पूर्ण मनोरञ्जन दिने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै