काठमाडौँ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। आइतबार निर्माण टिमले फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी प्रेमिल भावमा एकअर्कालाई अँगालो हालिरहेको देखिन्छ। यसले फिल्म गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षमा केन्द्रित रहेको संकेत गर्छ।
विपीनलाई ढाका टोपी, सर्ट र गञ्जीमा देखाइएको छ भने केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छिन्। दृश्यले नेपाली संस्कृति र पारिवारिक सम्बन्धलाई समेत झल्काएको छ।
पोस्टरको पृष्ठभूमिमा गाउँघर, तोरीका फुलले ढाकिएको खेत र पुरानो शैलीको भवन देखिन्छ। यसले फिल्म ग्रामीण कथावस्तुमा आधारित हुन सक्ने अनुमानलाई बल दिएको छ।
निर्माण पक्षका अनुसार फिल्म ‘काजी’ एक भावनात्मक सामाजिक कथामा आधारित छ, जसले प्रेम, पीडा, जिम्मेवारी र मानवीय सम्बन्धका विभिन्न पक्षहरू उजागर गर्नेछ।
राम प्रसाद रिजालको प्रस्तुतिमा बनेको फिल्मको निर्देशन लक्ष्मण रिजालले गरेका हुन्।
फिल्ममा विपीन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय रहेको छ।
फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्। छायांकन चिन्तन राजभण्डारीले गरेका छन्।
संगीत कालीप्रसाद बास्कोटाको रहेको छ भने प्रोडक्सन डिजाइन ओजस्वी ओझाले गरेका छन्।
रङ्ग संयोजन श्याम कुँवर, पार्श्व संगीत सुजिल कर्माचार्य, नृत्य निर्देशन कविराज गहतराज र सम्पादन सुपरभाइजर बनिश शाह रहेका छन्। सम्पादन विपीन मल्लले गरेका हुन्।
कार्यकारी निर्माता असिम काफ्ले हुन् भने निर्मातामा नेहान रिजाल र विकास राज जोशी छन्।
फिल्मलाई श्रीराम बालाजी फिल्म्सले देशभर वितरण गर्नेछ।