काठमाडौँ । आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
करिब २ मिनेट लामो ट्रेलरले विवाह, सम्बन्ध र पारिवारिक अपेक्षाबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ।
निर्देशक सहारा शर्माले फिल्ममा परिवारभित्र बुनिएको बुझाइ, सोच र सामाजिक दबाबलाई भावनात्मक रूपमा प्रस्तुत गरेकी छन्।
ट्रेलरमा आँचल शर्मा विवाहप्रति असन्तुष्ट देखिन्छिन् भने उनको परिवार सामाजिक प्रतिष्ठाका कारण विवाहलाई अगाडि बढाउन चाहन्छ। यही द्वन्द्वले कथालाई गहिरो बनाएको छ।
फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, गौरव विष्ट, अविरल प्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
विशेष रूपमा निशा शर्मा करिब तीन दशकपछि अभिनयमा फर्किएकी हुन्।
गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको संयुक्त निर्माणमा बनेको फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन्।
फिल्मको प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय सहकार्य पनि देखिन्छ। जर्मनीकी सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल निर्माण टिममा छन्।
छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन् भने सम्पादन भारतकी दीपा भाटियाले गरेकी छन्। थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको छ।
निर्माण पक्षका अनुसार ‘एक मुठ्ठी बादल’ विवाह, परिवार र सामाजिक दबाबबीचको मानवीय संवेदनशील कथा हो, जसले सम्बन्ध र निर्णयबीचको संघर्षलाई प्रस्तुत गर्छ।