सर्लाही । चन्द्रनगर गाउँपालिकाले सर्लाहीस्थित ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको नाढीमन ताललाई चलचित्र छायांकन स्थलका रूपमा प्रयोग गर्ने नेपाली सिनेमालाई अनुदान दिने घोषणा गरेको छ ।
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको समापन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष राजकुमार महतोले यस्तो घोषणा गरेका हुन् । उनले पालिकाले यसै वर्षदेखि नीतिकार्यक्रम तथा बजेटमा राखेको र आगामी वर्षपनि यसलाई निरन्तरता दिने बताए ।
महतोले यो अनुदान नेपालीले बनाउने नेपाली, मैथली, भोजपुरी भाषाका सिनेमा , टेलिचलचित्र तथा म्यूजिक भिडियोलाई प्रदान गरिने बताएका हुन् । यसको लागि पालिकाले कार्यविधि बनाइरहेको उनको भनाइ छ ।
यस्तो घोषणासँगै ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको नाढीमन ताललाई चलचित्र छायांकन स्थलका रूपमा समावेश गर्न चलचित्र विकास बोर्ड नेपालका कार्यकारी अध्यक्षमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्बोधन औपचारिक अनुरोधसमेत गरेको छ।
गाउँपालिकाका अनुसार नेपाल सरकारले चलचित्र तथा गीत छायांकनका लागि महत्वपूर्ण स्थलहरूको विवरण समेटेर प्रकाशन गरेको “फिल्मिङ्ग इन नेपाल: द अल्टिमेट ट्राभल गाइड टु फिल्म साइट्स” नामक स्रोत पुस्तकले फिल्म निर्माताहरूका लागि उपयोगी मार्गदर्शन प्रदान गर्दै आएको छ।
यसै सन्दर्भमा, द्धापर युग र महाभारतकालीन यक्ष दह मानिने करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताललाई उक्त गाइड तथा चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइटको “फिल्मिङ इन नेपाल” सेक्सनमा समावेश गर्न माग गरिएको छ।
गाउँपालिकाले नाढीमन ताललाई डिजिटल रूपमा वेबसाइटमा समावेश गर्नुका साथै आगामी प्रकाशन हुने पुस्तकको ई–बुक तथा प्रिन्ट संस्करणमा पनि स्थान दिन आग्रह गरेको छ।
चन्द्रनगर गाउँपालिकाले यस कदमले नाढीमन तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढ्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि चलचित्र विकास बोर्ड नेपालप्रति आभार प्रकट गरेको छ।
