काठमाडौं — चलचित्र र पर्यटनलाई जोड्दै कला, संस्कृति र कथालाई विश्वमाझ प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव (Karnali International Film Festival) को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला गरिएको छ।
आयोजक समितिले विश्वभरका तथा नेपाली फिल्म क्षेत्रका उत्कृष्ट सिर्जनालाई सम्मान गर्ने उद्देश्यले विभिन्न विधामा फिल्म दर्ताको आह्वान गरेको हो।
आयोजकका अनुसार महोत्सवको पहिलो चरणका कार्यक्रमहरू हालै कर्णाली प्रदेशको सुर्खेत र सल्यानस्थित कुपिण्डे दहमा सम्पन्न भएका थिए। सो कार्यक्रममा विभिन्न प्रस्तुति सहित १,२०० भन्दा बढी सहभागी उपस्थित भएका थिए।
अब दोस्रो चरणअन्तर्गत हुने अवार्ड समारोहका लागि फिल्मकर्मीहरूबाट आवेदन माग गरिएको छ।
प्रतिस्पर्धामा सहभागी हुन इच्छुक निर्माताले १५ मे २०२६ भित्र आवेदन दिनुपर्नेछ। आयोजकका अनुसार आवेदन दिने फिल्महरू २०८२ साल वैशाख १ देखि २०८२ चैत मसान्तसम्म सार्वजनिक रूपमा प्रदर्शन भइसकेको हुनुपर्नेछ। उक्त समयभन्दा अगाडि वा पछाडि प्रदर्शन भएका फिल्महरू यस संस्करणमा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।
यस महोत्सवमा कुल ८ विधामा अवार्ड प्रदान गरिनेछ। अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट सर्ट फिल्म रहेका छन्।
त्यस्तै, राष्ट्रिय (नेपाली) विधातर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट उदीयमान फिल्ममेकरलाई अवार्ड प्रदान गरिनेछ।
आवेदन दिन चाहनेले फिल्म विवरण तथा आवश्यक कागजातहरू महोत्सवको आधिकारिक इमेल [email protected] मार्फत पठाउन सक्नेछन्। विस्तृत जानकारीका लागि आधिकारिक वेबसाइट पनि सञ्चालनमा ल्याइएको छ।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार विश्वभरका उत्कृष्ट फिल्म र कथाहरूलाई एउटै मञ्चमा ल्याउनु यस महोत्सवको मुख्य उद्देश्य हो। उनले यस वर्ष अझै गुणस्तरीय र सिर्जनशील फिल्महरूको सहभागिता रहने विश्वास व्यक्त गरेका छन्।