नेपाल प्रहरीको नेपाल प्रहरी साइबर ब्युरो को नाम दुरुपयोग गर्दै मोबाइल एप ‘ट्रु कलर’मा आफूलाई साइबर ब्युरोको प्रतिनिधि देखाएर ठगी गर्ने आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दिपक लिम्बु, सुनसरीको धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई तथा इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले ‘ट्रु कलर’ एपमा साइबर ब्युरोको नाम देखिने गरी सेटअप गरेर विभिन्न व्यक्तिलाई फोन सम्पर्क गर्ने गरेका थिए। त्यसपछि पीडितलाई डर, त्रास तथा विभिन्न प्रलोभनमा पारेर रकम पठाउन लगाई विद्युतीय माध्यममार्फत ठगी गर्ने गरेको आरोप छ।
पीडितहरूले दिएको उजुरीपछि नेपाल प्रहरी साइबर ब्युरो ले प्राविधिक अनुसन्धान तथा विश्लेषणमार्फत उनीहरूको संलग्नता खुलाएको जनाएको छ।
ब्युरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय धरान को समन्वय र सहयोगमा उनीहरूलाई १९ गते पक्राउ गरेको हो।
उनीहरूमाथि विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालत ले चार दिनको म्याद थप गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।