काठमाडौं । निर्देशक परिच्छेद सेनको ड्रिम प्रोजेक्ट फिल्म ‘महाराजधिराज’को मंगलबार बंगलामुखी मन्दिरमा भव्य शुभमुहूर्त गरिएको छ । शङ्ख धुन र पञ्चेबाजासहित सम्पन्न शुभमुहूर्त कार्यक्रममा फिल्मका कलाकार तथा निर्माण टिमको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिहान ८ बजेदेखि सुरु भएको पूजा कार्यक्रम ११ः११ बजेसम्म चलेको थियो । कार्यक्रममा कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत सहभागी थिए ।
फिल्मको छायांकन यही २५ गतेदेखि सुनसरीको श्रीलंका टापुबाट सुरु हुने निर्माण टिमले जनाएको छ । सुनसरीमा एक सातासम्म छायांकन गरिनेछ भने त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानमा करिब ७० दिन छायांकन हुनेछ । फिल्मको छायांकन नवराज थापाले गर्नेछन् ।
निर्देशक सेनले लामो समय लगाएर तयार पारेको ‘महाराजधिराज’ सामाजिक पिरियड ड्रामा भएको बताएका छन् । फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौलालगायतको अभिनय रहनेछ ।
यस्तै, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी र कमल देवकोटाको पनि अभिनय रहनेछ ।
करिब ८० कलाकारको सहभागिता रहने फिल्ममा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ भने निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् ।
निर्माण टिमका अनुसार ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शन गरिने तयारी छ ।