समिर भट्टका बाबु-छोराको नयाँ फिल्म ‘१२ गाँउ-२’मा हिजो मात्रै नव-नायिकाको नाम सार्वजनिक भएकोमा आज पनि विराज भट्टले अर्की नायिकासमेत फिल्ममा रहने खुलासा गरेका छन् ।
उनले आफ्नो फेसबुकमार्फत फिल्ममा रहने नव-नायिकाको तस्बिर सार्वजनिक गरेका हुन् ।
यो फिल्मबाट ‘द भ्वाइस अफ नेपाल’को अन्तिम प्रतिस्पर्धामा सहभागी भएकी मिठो स्वरकी धनी वर्षा इतानीले डेब्यु गर्न लागेकी हुन् ।
उनले ‘द भ्वाइस अफ नेपाल’मा भूमे गीत गाएर निर्णायकहरूको मन जित्दै छनोट हुन सफल भएकी थिइन् ।
नव-नायिकाको नाम र तस्बिर सार्वजनिक गर्दै अभिनेता विराज भट्टले, ‘नव-नायिकाको रूपमा वर्षा इतानीलाई ‘१२ गाँउ २’मा हार्दिक स्वागत छ । जय नेपाल | जय नेपाली फिल्म,’ लेखेका छन् ।
हिजो मात्रै विराजले वितरक, निर्माता तथा कलाकारसमेत रहेका गोविन्द शाहीकी छोरी कृशु शाहीलाई ‘१२ गाँउ-२’की नायिकाका रूपमा सार्वजनिक गरेका थिए ।
अब फिल्ममा वर्षाको इन्ट्रीसँगै उनी कसको जोडी बनेर फिल्ममा देखिनेछिन् भन्ने प्रश्न खडा भएको छ ।
स्मरण रहोस्, ‘१२ गाँउ’मा समिर भट्टको जोडी थिएन ।