नेपाली सिनेमाका दुई चर्चित र लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक सँगै पर्दामा देखिने भएका छन्। फिल्म ‘मितज्यू’ यही जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो।
यी दुई कलाकार नेपाली फिल्म उद्योगमा ‘सदाबहार’ र सबैभन्दा बढी रुचाइएका अभिनेतामध्ये मानिन्छन्। दर्शकको निरन्तर रुचि र सफल सहकार्यका कारण उनीहरू प्रायः मेकरको पहिलो रोजाइमा पर्ने गरेका छन्।
यसअघि ‘लुट’ र ‘कबड्डी’ जस्ता सफल फिल्ममार्फत यो जोडीले दर्शकको मन जितिसकेको छ। निर्माण टिमका अनुसार ‘मितज्यू’मा पनि उनीहरूबीचको टकराव र द्वन्द्व नै मुख्य आकर्षण हुनेछ।
फिल्मको पोस्टर र टिजरमा दयाहाङ र सौगातलाई एकअर्काको विपरीत चरित्रमा देखाइएको छ। उनीहरू सँगै रहन्छन् तर मिल्न नसक्ने सम्बन्धमा प्रस्तुत भएका छन्, जसले दर्शकलाई मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ।
निर्माता जनक घर्ती मगरका अनुसार, “दयाहाङ र सौगातको यो केमिस्ट्री दर्शकका लागि विशेष अनुभव हुनेछ। यो फिल्म उनीहरूको सहकार्यमा स्मरणीय बन्नेछ।”
‘मितज्यू’ का निर्देशक अनिल बुढा मगर हुन् भने निर्माण जनक घर्ती मगरले गरेका हुन्।
फिल्ममा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायत कलाकारको अभिनय रहेको छ।
तेरियाको यो डेब्यु फिल्म पनि हो, जसलाई थप विशेष मानिएको छ।
फिल्मको सम्पादन लोकेश बज्राचार्य, छायांकन शिशिर विष्णु के र संगीत श्रीकृष्ण बम मल्लले गरेका छन्।
फिल्मलाई आर आर फिल्मस् ले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।