काठमाडौंमा पेस्तोल देखाएर लुटपाट प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटना वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा विकेश राजवाहक र अरुण भुजेल रहेका छन्। उनीहरूबाट एक थान पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, घटनामा संलग्न भएको आशंकामा ललितपुरका हरिकृष्ण महर्जनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना व्यक्तिले पसलभित्र प्रवेश गरी एक महिला कर्मचारीलाई पेस्तोल देखाएर लुट्ने प्रयास गरेका थिए। तर ती कर्मचारीले प्रतिरोध गरेपछि उनीहरू घटनास्थलबाट भागेका थिए।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना थप चर्चामा आएको थियो।
प्रहरीका अनुसार घटनास्थलबाट कुनै पनि सामान लुट्न सफल नभए पनि आरोपीहरूको संलग्नता र अन्य सम्भावित चोरी घटनासँगको सम्बन्धबारे अनुसन्धान भइरहेको छ।