‘लालीबजार’ भोलिबाट देशभर

0 Shares

काठमाडौँ ।
नेपाली फिल्म लालीबजार को प्रदर्शनमाथि लागेको रोक हटेसँगै फिल्म आगामी शुक्रबार वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। उच्च अदालत पाटनले बुधबार फिल्मको प्रदर्शन रोक्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि प्रदर्शनको बाटो खुलेको हो।

न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले दिएको आदेशपछि निर्माण कम्पनी षट्कोण आर्ट्स ले फिल्म निर्धारित मितिमै रिलिज हुने जनाएको छ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्री ले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै फिल्म कुनै पनि समुदाय वा वर्गको भावनामाथि आघात पुर्‍याउने उद्देश्यले नबनाइएको बताए। उनका अनुसार फिल्म आमा र छोरीबीचको भावनात्मक सम्बन्ध तथा छोरीका लागि आमाले गर्ने संघर्षको कथामा आधारित छ।

फिल्मका निर्देशक तथा लेखक यम थापा ले पनि फिल्मलाई लिएर भइरहेका अड्कलबाजी वास्तविकताभन्दा फरक रहेको बताए। उनले फिल्म हेरेपछि कुनै पनि समुदायको भावना आहत नहुने दाबी गरे।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थीविरवल चौधरी लगायत कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटाप्रशंसा सुवेदी ले फिल्म क्षेत्रमा डेब्यु गरेका छन्। विशाल रंगमञ्चमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय छन् भने प्रशंसा नयाँ पुस्ताकी उदीयमान अभिनेत्रीका रूपमा चिनिन्छिन्।

लालीबजार को कथा तथा निर्देशन यम थापा ले गरेका हुन् भने पटकथा र संवाद यम थापा तथा प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्।

सम्बन्धित समाचार

सबै