‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक, विवाहअघि युवतीको भावनात्मक संसार चित्रण

0 Shares

काठमाडौं । आगामी नेपाली फिल्म एक मुठ्ठी बादल को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ। निर्देशक साहारा शर्मा को डेब्यु निर्देशनमा बनेको फिल्मको गीत शुक्रबार सार्वजनिक गरिएको हो।

गीतमा श्रेया राई को शब्द, संगीत र स्वर रहेको छ। भावनात्मक शैलीमा तयार गरिएको गीतले विवाहको तयारीमा रहेकी एक युवतीको मनमा उठ्ने सम्झना, भावनात्मक द्वन्द्व र विगतका अनुभूतिलाई प्रस्तुत गरेको छ।

सार्वजनिक भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मा लाई केन्द्रमा राखिएको छ। घरमा विवाहको माहोल चलिरहेका बेला युवतीले आफ्नो पुरानो जीवन, सम्बन्ध र घरसँग जोडिएका स्मृतिहरू सम्झिरहेको दृश्य गीतमा देख्न सकिन्छ। गीतका शब्द र दृश्यले विवाहअघि युवतीको मनोभावलाई संवेदनशील ढंगले अभिव्यक्त गरेका छन्।

फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्टअविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्। निर्माण टिममा जर्मन निर्माता सारा फाजिलात सहित सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि आबद्ध छन्।

फिल्मको छायांकन लिन्ह डान गुयेन फानले गरेका हुन् भने सम्पादन गौरव मल्लिकको रहेको छ। भेषभूषा डिजाइन जानकी कडायत ले तयार गरेकी हुन्।

महिलाको नेतृत्वलाई प्राथमिकता दिइएको फिल्मलाई गौंथली इन्टरटेनमेन्टमन प्रडक्सन ले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको नेपाल वितरण आरआर फिल्म्स ले गर्नेछ।

सम्बन्धित समाचार

सबै