काठमाडौं । घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको नेपाली फिल्म मालती मंगले ले प्रदर्शनको तेस्रो दिनमै नयाँ सांगीतिक उपहार सार्वजनिक गरेको छ । निर्माण टिमले दर्शकको बढ्दो उत्साह र सकारात्मक ‘माउथ पब्लिसिटी’लाई मध्यनजर गर्दै फिल्ममा समावेश ‘चुड्का भजन’ बोलको भिडियो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा पुरुषोत्तम ढुंगेल को शब्द रहेको छ भने किरण भुसाल लगायतका कलाकारको स्वर सुन्न सकिन्छ । संगीत निर्देशन पनि भुसालकै रहेको गीतमा परम्परागत चुड्का लयलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ । तालबाजामा रायपुर समुदायको सहभागिता रहेको गीतमा मादल, मुजुरा र खैँजडीको संयोजनले विशेष आकर्षण थपेको छ ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको मालती मंगले ले अहिले देशभरका सिनेमाघरमा दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । सकारात्मक दर्शक प्रतिक्रियाका कारण फिल्मले बलियो ‘वर्ड अफ माउथ’ निर्माण गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।
शनिबार काठमाडौंका विभिन्न हलमा पुगेका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल सहित कलाकार वर्षा राउत, विजय बराल र मेक्सम गौडेल लाई दर्शकले हुटिङ र तालीसहित स्वागत गरेका थिए । हलभित्र कलाकारप्रतिको दर्शक क्रेज उल्लेखनीय देखिएको थियो ।
फिल्म हेरेर बाहिरिएका धेरै दर्शकले मालती मंगले लाई हास्य, भावना र नेपालीपनको उत्कृष्ट मिश्रण भएको फिल्मको रूपमा प्रतिक्रिया दिएका छन् । विशेषगरी वर्षा राउत को भावनात्मक अभिनय तथा विजय बराल र मेक्सम गौडेल को प्रस्तुतिको प्रशंसा भइरहेको छ ।
रानी फिल्म्स को ब्यानरमा युनि इन्टरटेन्मेन्ट सँगको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक पाण्डेय स्वयंको हो भने पटकथा तथा संवाद संयोग गुरागाईँ ले लेखेका हुन् ।
फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा महेश पौडेल को छायांकन, रोमी मोजेज को सम्पादन, कृष्ण भण्डारी को रंग संयोजन तथा डिकेश खड्गी को ध्वनि मिश्रण रहेको छ । नेपालभर फिल्मको वितरण आरआर फिल्म्स ले गरिरहेको छ ।