ललितपुर । ललितपुरको सानेपा क्षेत्रमा भएका लाखौं रुपैयाँ बराबरको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चोरी, चोरीका गरगहना बिक्री तथा खरिदमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार सानेपास्थित एक घरबाट १८ लाख ५० हजार रुपैयाँ तथा अर्को घरबाट १५ लाख ३५ हजार रुपैयाँ बराबरका नगद तथा गरगहना चोरी भएको थियो। घटनापछि गरिएको अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

चोरीको मुख्य अभियोगमा सप्तरी घर भई हाल सानेपामा बस्दै आएका २४ वर्षीय समिर चौधरी पक्राउ परेका छन्। प्रहरीले उनीमाथि विभिन्न घरमा चोरी गरेको आरोप लगाएको छ।
त्यस्तै, चोरीका गरगहना बिक्री गरेको आरोपमा ललितपुरको कुपण्डोल बस्ने ४८ वर्षीया पूजा शर्मा जोशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, चोरीको सामान खरिद गरी गाल्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको न्युरोड प्यूखा चोकमा सुन पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय श्रवण कुमार पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट विभिन्न सुनका गरगहना तथा २२ लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।