‘मन विनाको धन २’मा महेश त्रिपाठी इन्ट्री, पूजा शर्मापछि मुख्य भूमिकामा अनुबन्ध

0 Shares

टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म मन विनाको धन-२ मा अभिनेता महेश त्रिपाठी  अनुबन्धित भएका छन्। निर्देशक बुढाथोकीले महेशसँग औपचारिक कागजी सम्झौता गरिसकेको जानकारी दिएका छन्।

फिल्ममा महेशको भूमिका कस्तो रहने भन्ने विषय सार्वजनिक गरिएको छैन। पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित भएर फिल्म निर्माण गर्ने तयारी भइरहेको निर्देशक बुढाथोकीले बताएका छन्।

यसअघि नै अभिनेत्री पूजा शर्मा फिल्मका लागि अनुबन्धित भइसकेकी छन्। फिल्ममा पूजा र महेश जोडीका रूपमा देखिने हुन् वा होइनन् भन्नेबारे निर्माण टिमले अहिलेसम्म खुलाएको छैन।

फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखिरहेका छन्। कथा लेखनको काम तीव्र रूपमा अघि बढिरहेको निर्माणपक्षले जनाएको छ। फिल्मको कथा र संगीत भने निर्देशक बुढाथोकी स्वयंको रहनेछ।

टंक बुढाथोकीले फिल्मका अन्य कलाकारहरूमा पनि चर्चित र दर्शकमाझ लोकप्रिय अनुहारलाई अनुबन्धित गर्ने तयारी भइरहेको बताएका छन्। फिल्म टंक बुढाथोकी फिल्मस् को ब्यानरमा निर्माण हुनेछ।

फिल्मको निर्माण विष्णुमााया मैनालीले गर्नेछिन्।

सम्बन्धित समाचार

सबै