आगामी नेपाली फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ। युट्युबमा सार्वजनिक भएलगत्तै दर्शकमाझ लोकप्रिय बनेको गीत अहिले टिकटक र फेसबुक रिल्समा भाइरल भइरहेको छ।
निर्माणपक्षका अनुसार चार दिनअघि रिलिज भएको यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनिरहेका छन् भने दर्शकले गीतलाई निरन्तर सेयर गरिरहेका छन्। रोमान्टिक तथा डान्सिङ शैलीमा तयार गरिएको गीतलाई दर्शकले स्वतःस्फूर्त रूपमा मन पराइरहेका छन्।
युट्युबमा प्रतिक्रिया दिँदै दर्शक समीर सुनारले लेखेका छन्, “मलाई गीत साह्रै मनपर्यो। शब्द, स्वर र लय उत्कृष्ट छ।” उनले गायक प्रशान्त शिवाकोटी र गायिका शान्तिश्री परियारको गायनको प्रशंसा गर्दै फिल्मको सफलताको शुभकामना दिएका छन्।
युवायुवतीबीचको आकर्षण, प्रेम र सँगै जीवन बिताउने चाहनाको भाव समेटिएको गीतले दर्शकलाई पुराना दिन सम्झाएको प्रतिक्रिया समेत आइरहेको छ। गीतको शब्द, लोकलय र गण्डकी प्रदेशको भाषिक स्वादले यसलाई अझ विशेष बनाएको दर्शकहरूको भनाइ छ।
विशेषगरी पर्वत, बाग्लुङ र म्याग्दी क्षेत्रका दर्शकले आफ्नै भेगको भाषा, परिवेश र संस्कृति गीतमा समेटिएको भन्दै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्। फिल्मका केही दृश्य पनि ती क्षेत्रमै छायांकन गरिएको निर्माणपक्षले जनाएको छ।
गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ। सुष्मा सिग्देलको शब्द रहेको गीतमा संगीत पनि प्रशान्त स्वयंले दिएका हुन्। गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन्।
गीतको भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ। विशेषगरी विनोदको नृत्य र अभिनयलाई दर्शकले रुचाइरहेका छन्।
‘रोल नं १’ आगामी जेठ १५ गते प्रदर्शनमा आउने तयारीमा छ। जोन योञ्जनको निर्देशनमा बनेको यो फिल्मले विद्यार्थीको मनोविज्ञान तथा वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा प्रस्तुत गर्नेछ।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।
फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन्। फिल्मको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन्।