आगामी नेपाली फिल्म काजीको ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। भावनात्मक संवाद, पारिवारिक कथा र कलाकारहरूको प्रभावशाली अभिनयका कारण ट्रेलर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
विशेषगरी अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनय तथा उनीहरूको केमेस्ट्रीलाई दर्शकले अत्यधिक रुचाएका छन्। प्रेम, विश्वास, त्याग र सम्बन्धको द्वन्द्वलाई केन्द्रमा राखेर तयार गरिएको ट्रेलरले दर्शकको ध्यान खिच्न सफल भएको छ।
सार्वजनिक भएको छोटो समयमै ट्रेलर मुभी चार्टको टप पाँचभित्र पर्न सफल भएको छ। यसले फिल्मप्रति दर्शकमाझ उत्साह र अपेक्षा उच्च रहेको संकेत गरेको छ।
ट्रेलरमा ग्रामीण तथा मध्यमवर्गीय नेपाली परिवारको परिवेशलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको देखिन्छ। संवादहरू कृत्रिमभन्दा पनि वास्तविक जीवनसँग नजिक महसुस हुने खालका छन्। भावनात्मक दृश्यसँग मेल खाने छायांकन र पृष्ठभूमि संगीतले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ।
ट्रेलरमा विपीन कार्कीले बोलेको संवाद, “भगवानले बा–आमा त दिएनन्, तर यिनीलाई दिए” ले पात्रभित्रको अभाव, एक्लोपन र पत्नीप्रतिको गहिरो प्रेमलाई उजागर गर्छ। त्यस्तै केकी अधिकारीको संवाद, “बरु भगवानबाट गल्ती हुन्छ, मेरो काजीबाट हुँदैन” ले श्रीमानप्रतिको अटुट विश्वास झल्काएको छ।
“कजिनीले फेरि यस्तै चित्त दुखाउने कुरा सुन्नुपर्यो भने म सबै छोडेर जान्छु” भन्ने संवादमार्फत सम्बन्ध जोगाउन पात्र जुनसुकै हदसम्म जान तयार रहेको देखाइएको छ। “एउटा झुटले मेरो सम्बन्ध बाँच्छ भने बरु पाप लागे पनि लागोस्” भन्ने संवादले भने कथामा आउने भावनात्मक तथा नैतिक द्वन्द्वको संकेत गर्छ।
काजी आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मलाई यस वर्षको प्रतीक्षित पारिवारिक ड्रामामध्ये एकका रूपमा हेरिएको छ।
फिल्ममा विपीन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारको अभिनय रहेको छ।
रामप्रसाद रिजालको प्रस्तुतिमा बनेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् भने कथा प्रदीप भारद्वाजले लेखेका छन्।
फिल्मका निर्मातामा नेहान रिजाल र विकासराज जोशी रहेका छन्। असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउन्ड डिजाइन तथा सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत रहेको छ।
फिल्मको सम्पादन विपीन मल्लले गरेका हुन् भने सुपरभाइजर सम्पादन बनिश शाहको रहेको छ। श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्दैछ।