काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुने चर्चित सांगीतिक रियालिटी शो द भ्वाइस अफ किड्स सिजन ५ का कोच (निर्णायक) सार्वजनिक गरिएको छ। बिहीबार चार जना कोचहरूको नाम औपचारिक रूपमा घोषणा गरिएको हो।
यस संस्करणका कोचमा सत्यराज आचार्य, मिलन नेवार, अर्जुन सापकोटा र वाङ्देन शेर्पा रहेका छन्।
यसमा सत्यराज आचार्य र मिलन नेवार अघिल्ला सिजनबाट निरन्तरता पाएका कोच हुन् भने अर्जुन सापकोटा र वाङ्देन शेर्पा पहिलो पटक कोचको भूमिकामा देखिन लागेका हुन्।
निर्देशक लक्ष्मण पौड्यालका अनुसार शोको ‘ब्लाइन्ड अडिसन’ राउन्डको छायांकन शनिबारदेखि सुरु हुने तयारी गरिएको छ। यस चरणबाट कुल ४८ जना प्रतिभा छनोट गरिनेछ।
शोको प्रसारण जेठको अन्तिम सातादेखि सुरु हुने जनाइएको छ। यस संस्करणमा दर्शकको रुचि र प्रतिस्पर्धालाई ध्यानमा राख्दै ‘सुपर ब्लक’ नियम पनि लागू गरिने भएको छ।
निर्देशक पौड्यालका अनुसार अघिल्लो सिजनमा देखिएको दर्शकको सकारात्मक प्रतिक्रिया र लोकप्रियताका कारण यस पटक प्रतियोगितालाई अझ रोचक बनाउन नयाँ नियम थपिएको हो।