‘मालती मङ्गले’ अब अमेरिका–क्यानडामा, अग्रिम टिकट बिक्री उत्साहजनक
0
Shares
काठमाडौं । नेपालमा प्रदर्शनसँगै दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको नेपाली फिल्म मालती मङ्गले अब उत्तर अमेरिकामा प्रदर्शन हुने भएको छ। सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेन्मेन्ट को सहकार्यमा फिल्म मे १५ देखि अमेरिकाभर दैनिक शोसहित प्रदर्शनमा आउन लागेको हो।
फिल्म मालती मङ्गले अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतका प्रमुख सहरमा प्रदर्शन हुँदैछ। अङ्ग्रेजी उपशीर्षकसहित प्रदर्शन हुने फिल्मको अग्रिम टिकट बिक्री पनि उत्साहजनक रहेको जनाइएको छ।
फिल्मको क्यानडा प्रदर्शन अधिकार आँगन इभेन्ट्स ले खरिद गरिसकेको छ। निर्माता रामकृष्ण ढकाल का अनुसार अन्य देशहरूमा पनि फिल्म ‘सोल्ड आउट’ हुने क्रम जारी रहेको छ र त्यसबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ।
नेपालमा प्रदर्शनको पहिलो सातादेखि नै फिल्मले बलियो सकारात्मक प्रतिक्रिया पाएको छ। दर्शकहरूले फिल्मलाई हँसाउने, रुवाउने र नेपालीपनको गहिरो अनुभूति दिलाउने उत्कृष्ट फिल्मको रूपमा प्रतिक्रिया दिएका छन्।
विशेषगरी अभिनेत्री वर्षा राउत को भावनात्मक अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेल को प्रस्तुति दर्शकमाझ निकै रुचाइएको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको व्यापार आगामी दिनमा अझ सशक्त बन्ने संकेत देखिएको छ।
रानी फिल्म्स को ब्यानरमा युनि इन्टरटेन्मेन्ट को सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेयकै कथामा आधारित फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँ ले तयार पारेका हुन्।
फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।
महेश पौडेल को छायांकन रहेको फिल्ममा सम्पादन रोमी मोजेज, रङ संयोजन कृष्ण भण्डारी, पृष्ठभूमि सङ्गीत सुजिल कर्माचार्य र ध्वनि मिश्रण डिकेश खड्गी ले गरेका छन्।