आफ्नो डेब्यु निर्देशन ‘पार्वती’को पहिलो झलकमा यस्तो देखिइन् नीता ढुंगाना

0 Shares

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना ले निर्देशन गरेको पहिलो चलचित्र पार्वती को पहिलो झलक सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार एक विशेष कार्यक्रममार्फत दुईवटा पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरहरूले फिल्मप्रति दर्शकमाझ ठूलो कौतुहलता सिर्जना गरेका छन्। पहिलो पोस्टरमा नीता ढुंगाना स्कुले छात्राको पोसाकमा देखिएकी छन्। छोटो कपाल, घाँटीमा कालो धागो र नीलो फ्रकमा उनको ‘डी-ग्ल्याम’ अवतारले सामान्यभन्दा फरक र चुनौतीपूर्ण पात्रको संकेत गरेको छ।

उनको हेराइ र मुस्कानमा देखिएको निर्दोषताले ‘पार्वती’ केवल सामान्य पात्र नभई आफ्नै संसारमा रमाउने संवेदनशील चरित्र भएको झल्किन्छ। सामान्यतया ग्ल्यामरस भूमिकामा देखिने नीताको यो रूपले दर्शकमाझ थप चासो बढाएको छ।

दोस्रो पोस्टरमा बाल कलाकार अशोक दर्जी ले नीता ढुंगानालाई पिठ्युँमा बोकेका छन्। यो दृश्यले उनीहरूबीचको सम्बन्ध संरक्षक र आश्रितको भावनात्मक कथामा आधारित रहेको संकेत गर्छ।

दुवै पात्रको अनुहारमा देखिएको सरल मुस्कानले उनीहरूबीचको सम्बन्ध निःस्वार्थ र भावनात्मक रहेको बुझिन्छ। नीताले आकाशतर्फ देखाएको औँलाले पात्रका सपना र कल्पनाशीलतालाई झल्काएको छ।

पोस्टरको पृष्ठभूमिमा चकले लेखिएका ‘माया’, ‘परिवार’, ‘स्नेह’ जस्ता शब्दहरूले फिल्म विद्यालय र सामाजिक भावनासँग जोडिएको कथा हो भन्ने स्पष्ट संकेत दिन्छ।

फिल्म पार्वती २०८३ सालको रक्षाबन्धन (भदौ १२) मा प्रदर्शन हुने भएको छ। रिलिज मितिका रूपमा रक्षाबन्धन छनोट गरिनु पनि फिल्म दिदी–भाइ तथा भावनात्मक सम्बन्धमा केन्द्रित रहेको संकेत मानिएको छ।

नीता ढुंगानाका लागि यो फिल्म निर्देशनसँगै मुख्य भूमिकासमेत सम्हालिएको महत्वपूर्ण जोखिम र अवसर दुवै हो। उनले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अघि बढाएकी छन्।

नीता ढुंगाना फिल्म्स को प्रस्तुतिमा बनेको फिल्मका निर्माता हरिहर अधिकारी हुन्। छायांकन सुदिप बराल ले गरेका छन् भने संवाद शिवम् अधिकारी ले लेखेका हुन्।

फिल्ममा दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपालीआशा पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ।

क्रिएटिभ निर्देशन सरोज अधिकारी ले गरेका छन् भने प्रोडक्सन तथा कार्यकारी निर्माताको जिम्मेवारी शंकर पाण्डे ले सम्हालेका छन्। सम्पादन साहिल खान ले गरेका छन्।

संगीततर्फ प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेलदीपक शर्मा को योगदान रहेको छ भने गीतमा युवराज काफ्लेहर्क साउद लगायतको सहभागिता छ।

नृत्य निर्देशन रामजी लामिछाने ले गरेका छन् भने सहायक निर्देशन नवराज शर्मा र पाश्र्व संगीत अलिस कार्की ले तयार पारेका छन्।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्टएफ.डी. कम्पनी ले वितरण गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सम्बन्धित समाचार

सबै