निर्देशक समाज चुनाव : अरुण कुमार प्रधानको ‘टिम’ सार्वजनिक, हेर्नुस् को को छन् ?

0 Shares

नेपाल चलचित्र निर्देशक समाज को १८औँ वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै जाँदा निर्देशकहरूको चुनावी माहोल निकै तातेको छ । यही बीच अध्यक्ष पदका उम्मेदवार अरुण कुमार प्रधान नेतृत्वको ‘टिम अरुण’ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ ।

“सशक्त निर्देशक, समृद्ध नेपाली सिनेमा” भन्ने नारासहित मैदानमा उत्रिएको टिमले निर्देशक समाजलाई व्यवस्थित, डिजिटल र जिम्मेवार संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।

टिमले निर्देशकहरूको सम्मान, नेपाली फिल्म उद्योगको पुनर्जागरण, पहिचान, प्रवर्द्धन र संरक्षणमा आफूहरू दृढतापूर्वक लाग्ने दाबी गरेको छ । साथै, व्यवसायिक, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरको निर्देशक समाज निर्माण गर्ने लक्ष्यसमेत अघि सारेको छ ।

“एकता, सम्मान र सिर्जनशीलताको साझा अभियान” तथा “नयाँ सोच, नयाँ गति, नयाँ निर्देशक समाज” भन्ने अवधारणालाई प्रमुख एजेन्डा बनाएको ‘टिम अरुण’ले प्रस्तावित चलचित्र विधेयकलाई निर्देशकमैत्री बनाउन सशक्त भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएको छ ।

अध्यक्ष पदमा अरुण कुमार प्रधान उम्मेदवार रहेका छन् भने महासचिवमा समुद्र भट्ट, वरिष्ठ उपाध्यक्षमा शुभाष गजुरेल, उपाध्यक्षमा दीपक वली, सचिवमा राज बहादुर साने, कोषाध्यक्षमा उत्सव के.सी. र सह–कोषाध्यक्षमा भिम तामाङ उम्मेदवार बनेका छन् ।

यस्तै सदस्य पदका लागि लक्ष्मण सुनार, यम शेर्पासागर केरुङ मैदानमा उत्रिएका छन् ।

‘टिम अरुण’ले नेपाली फिल्म उद्योगलाई अझ व्यवस्थित, सिर्जनशील र सशक्त बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी आएको जनाएको छ ।

सम्बन्धित समाचार

सबै