फस्टलुक पोस्टरसँगै ‘कमला मिस’ रिलिजमितिको घोषणा गरियो

0 Shares

निर शाह निर्देशित नयाँ नेपाली फिल्म ‘कमला मिस’ साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । मनोवैज्ञानिक रहस्य कथामा आधारित फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई गहिरो मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ । पोस्टरले फिल्म रहस्यमय, संवेदनशील र मनोवैज्ञानिक द्वन्द्वले भरिएको हुने संकेत गरेको छ । निर्माण टिमका अनुसार फिल्मको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गरिनेछ ।

‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनय रहेको छ । साथै रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसीसंजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा उमेश मल्लचैतन्य प्रधान रहेका छन् । विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् । त्यसैले ‘कमला मिस’लाई उनको अनुभव, शैली र सिर्जनशीलताको नयाँ अध्यायका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार

सबै