‘काजी’मा फरक प्रेमकथा, विपिन कार्की भन्छन्– “काजी–कजिनीको प्रेम पो प्रेम”

0 Shares

आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ अहिले दर्शकमाझ चर्चामा छ । ट्रेलर र गीत सार्वजनिक भएपछि फिल्मप्रति उत्साह बढिरहेका बेला मुख्य अभिनेता विपिन कार्कीले फिल्मको कथा, पात्र र आफ्नो अभिनय अनुभवबारे खुलेर बोलेका छन् ।

विपिनका अनुसार ‘काजी’ आफूले यसअघि नगरेको फरक स्वादको प्रेमकथामा आधारित फिल्म हो । उनले सुरुवातमा फिल्मको कथा फरक रहे पनि पछि निर्माण टिमले नयाँ कथासहित पुनः प्रस्ताव गरेको बताए ।

उनले भने, “पहिले हामी अर्को कथामा ‘काजी’ अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई निकै मन पर्‍यो ।”

विपिनका अनुसार फिल्मले प्रेमलाई केवल ठूला संवाद र भावनात्मक अभिव्यक्तिमा सीमित नगरी दैनिक जीवनका साना व्यवहार, समझदारी र त्यागमा खोजेको छ । श्रीमान–श्रीमतीबीचको सम्बन्ध, एकअर्काको खुसीमा आफ्नै खुसी देख्ने भावनालाई फिल्मले सूक्ष्म रूपमा प्रस्तुत गरेको उनले बताए ।

“ठूला–ठूला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले निकै सुन्दर ढंगले देखाएको छ,” उनले भने, “फिल्म हेरेपछि दर्शकले ‘काजी–कजिनीको प्रेम पो प्रेम’ भन्नुहुनेछ ।”

आफू पनि वैवाहिक जीवन बिताइरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको विपिनको अनुभव छ । उनले आफूले निभाएको पात्रलाई आफ्नै जीवनसँग नजिक महसुस गरेको बताए ।

“म आफैँ पनि एउटा श्रीमान् हुँ । त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु,” उनले भने, “अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन ।”

फिल्मको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’को विरासत बोकेको युवक भएको उनले जानकारी दिए । प्रेममा डुबेको र बाहिरी संसारसँग धेरै सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उनले यसलाई चुनौतीपूर्ण तथा नयाँ अनुभवको रूपमा लिएको बताए ।

अभिनयबारे बोल्दै विपिनले हरेक पात्रलाई फरक बनाउने प्रयास गर्ने गरेको बताए । दर्शकको अपेक्षाले जिम्मेवारी थपिएको स्वीकार्दै उनले अझ राम्रो काम प्रस्तुत गर्ने प्रयास निरन्तर रहने उल्लेख गरे ।

फिल्मको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले अहिलेको नेपाली फिल्मभन्दा फरक स्वाद दर्शकले ‘काजी’मा पाउने दाबी गरे । विशेषगरी ‘वारि बर पारि पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले फिल्मले राम्रो माहोल बनाइरहेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले फिल्म प्रचारमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै राम्रो कथा, बलियो प्रस्तुति र टिमवर्क नै दर्शकलाई हलसम्म तान्ने मुख्य आधार भएको बताए ।

केकी अधिकारीको पनि अभिनय रहेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्टहिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजको कथामा बनेको फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नेहान रिजाल र विकाशराज जोशी हुन् ।

फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ ।

सम्बन्धित समाचार

सबै