आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’को देशव्यापी अग्रिम टिकट बुकिङ बुधबारदेखि खुलेको छ। देशभरका विभिन्न हलहरूले एकसाथ टिकट बुकिङ सुरु गरेसँगै फिल्मले प्रदर्शनअघि नै राम्रो शो संख्या हासिल गरेको छ।
क्युएफएक्स सिनेमाज अन्तर्गत राइजिङ मल, पोखरा, वीरगञ्ज, इटहरी, दमौली, बिर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौंका विभिन्न हलहरूमा टिकट बुकिङ खुलाइएको छ। सुरुवातमै क्युएफएक्सले उपत्यकामा १३ र उपत्यका बाहिर १७ शो गरी कुल ३० शो उपलब्ध गराएको छ।
त्यस्तै, आइनआइ सिनेमाजले सिमरा, नवलपरासी, बुटवल तथा काठमाडौंका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ शो उपलब्ध गराएको छ। वान सिनेमाजले ७ शो र बिग मुभिजले २ शो दिएका छन्। यसरी फिल्मले प्रारम्भिक चरणमै करिब ६० शो पाइसकेको छ भने अन्य हलहरूमा बुकिङ खुल्ने क्रम जारी छ।
‘काजी’ काजी र कजिनीको भावनात्मक प्रेमकथामा आधारित फिल्म हो। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्।
फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा लेखकप्रदिप भारद्वाज हुन् भने निर्मातामा नेहान रिजाल र विकासराज जोशी रहेका छन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।
फिल्ममा असिम काफ्ले कार्यकारी निर्माता छन्। छायांकन चिन्तन राजभण्डारीले गरेका हुन् भने संगीत कालीप्रसाद बास्कोटाले दिएका छन्। नृत्य निर्देशन कविराज गहतराजको रहेको छ। प्रोडक्सन डिजाइन ओजस्वी ओझाले गरेका हुन्।
त्यस्तै रंग संयोजन श्याम कुँवर, साउण्ड डिजाइन सागर अर्याल, पार्श्व संगीत सुजिल कर्माचार्य, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन विपीन मल्ल र सुपरभाइजर सम्पादन बनिश शाहले गरेका छन्।
फिल्म श्रीराम बालाजी फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।