‘मितज्यू’को अग्रिम टिकट बुकिङ खुला

0 Shares

केन्द्रीय फिल्म जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेसँगै नेपाली फिल्म ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुला गरिएको छ। आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यस फिल्मले बुधबार बिहानसम्म देशभरका ११ वटा हलमा २८ शो प्राप्त गर्दै सुखद सुरुवात गरेको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मितज्यू’लाई जनक घर्ती मगरले निर्माण गरेका हुन् भने निर्देशन अनिल बुढामगरको रहेको छ। ग्रामीण परिवेशको सामाजिक कथामा आधारित फिल्मले सुरुवातमै हलहरूबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ।

फिल्मको बुकिङ एफक्युब चाबहिल, आइएनआईका बुटवल, नयाँ बानेश्वर र सिमरा शाखा, लोत्से मल, विश्वज्योतिसहित दाङ, बनेपा र कपिलवस्तुका विभिन्न सिनेमा हलहरूमा खुलिसकेको छ।

निर्देशक अनिल बुढामगर ले आफ्नो अघिल्लो फिल्म ‘घरज्वाईँ’को सेन्सर प्रक्रियामा झन्झट बेहोर्नुपरेको स्मरण गर्दै यसपटक सहज रूपमा ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त हुँदा निर्माण टिम उत्साहित भएको बताए।

फिल्ममा दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा छन्। चर्चित डान्सर टेरिया मगर ले यही फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यु गरेकी छिन्। साथै, पुस्कर गुरुङ, शिशिर वाङ्देल र राज थापालगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत छ भने गायिका मेलिना राई र लक्ष्मी मल्लको स्वर समावेश छ।

फिल्मका ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ बोलका गीतहरू अहिले टिकटक र युट्युबमा चर्चामा छन्। आरआर फिल्म्सले वितरण गरिरहेको ‘मितज्यू’को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै