पूर्वराष्ट्रपति रामवरण यादवले हेरे ‘बिगुल’, भने- राजनीतिक यथार्थ बोल्ने फिल्म

0 Shares

नेपालका प्रथम राष्ट्रपति रामवरण यादव ले ‘बिगुल’ फिल्म हेर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष प्रदर्शनमा उहाँसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वमन्त्री प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायत विभिन्न राजनीतिक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भ्रष्टाचार, राजनीतिक विकृति, प्रशासनिक बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाइएको ‘बिगुल’ हेरेपछि पूर्वराष्ट्रपति यादवले फिल्मले यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै यसले समाज परिवर्तनमा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले आफूले धेरै वर्षपछि हलमा पुगेर नेपाली फिल्म हेरेको उल्लेख गर्दै देशको वास्तविकता बोल्ने फिल्म भनेर सुनेपछि हेर्न आएको बताए।
“धेरै वर्षपछि हलमा आएर नेपाली फिल्म हेरेको हुँ। देशको यथार्थ बोल्ने फिल्म भनेर सुनेपछि हेर्न आएको हुँ। वास्तवमै ‘बिगुल’ उत्कृष्ट, यथार्थवादी र सन्देशमूलक फिल्म रहेछ,” उनले प्रतिक्रिया दिए।

त्यस्तै, गगन थापाले ‘बिगुल’लाई परिवर्तनको ऐना भएको टिप्पणी गर्दै यो फिल्मले युवा पुस्तालाई सोच्न बाध्य बनाउने र समाज रूपान्तरणको बहसलाई थप बल दिने विश्वास व्यक्त गरे।
“यो केवल मनोरञ्जनका लागि बनेको फिल्म होइन, देशको यथार्थ बोल्ने फिल्म हो,” उनले भने।

विशेष प्रदर्शनमा सहभागी अधिकांश अतिथि तथा बौद्धिक व्यक्तित्वहरूले फिल्मको विषयवस्तु, प्रस्तुति र सन्देशलाई प्रभावकारी भन्दै प्रशंसा गरेका थिए। धेरैले ‘बिगुल’लाई नेपालको वर्तमान अवस्थाको निर्भीक र यथार्थ चित्रण गर्ने साहसी फिल्मको संज्ञा दिएका छन्।

दिनेश कोइरालाको कथा तथा निर्माण रहेको ‘बिगुल’लाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। जेन्जी आन्दोलनको माहोल बन्नुअघि निर्माण गरिएको फिल्ममा राजनीतिक अस्थिरता, राज्य संयन्त्रभित्रको अव्यवस्था र जनआक्रोशलाई प्रस्तुत गरिएको छ। दर्शकहरूले फिल्मको कथा अहिलेको नेपालको अवस्थासँग आश्चर्यजनक रूपमा मेल खाने प्रतिक्रिया दिएका छन्। कतिपयले यसलाई “समयभन्दा अगाडि बनेको चेतनाको आवाज” समेत भनेका छन्।

कथाकार तथा निर्माता दिनेश कोइरालाले ‘बिगुल’ कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध नभई समाजमा मौलाएको विकृति, अन्याय र भ्रष्ट प्रवृत्तिविरुद्ध उठाइएको कलात्मक आवाज भएको बताएका छन्।
“फिल्म समाजको ऐना हो, र ‘बिगुल’ले यही ऐनामा आजको नेपालको अनुहार देखाएको छ,” उनले भने।

फिल्म आगामी जुन २६ देखि अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारीमा छ भने नेपालमा पुनः रिलिजको मिति चाँडै घोषणा गरिने निर्माण टिमले जनाएको छ।
गत निर्वाचनअघि १ फागुनमा प्रदर्शनमा आएको ‘बिगुल’ चार दिनमै हलबाट हटाइएको थियो।

फिल्ममा बेनीशा हमाल, नरेन खड्का, जेएन घिमिरे, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, मिरा पण्डित, मान्सी शर्मा र रबिन्द्र खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै