‘रोल नं १’को नयाँ अफर : स्कुल जीवनको कथा सुनाएर जित्नुस् ३० हजार रुपैयाँ

0 Shares

आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रोल नं १’ले दर्शकका लागि आकर्षक प्रतियोगिता सार्वजनिक गरेको छ। निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ अभियानअन्तर्गत स्कुल जीवनका अनुभव सुनाएर नगद पुरस्कार जित्ने अवसर ल्याएको हो।

‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ शीर्षकमा सुरु गरिएको भिडियो प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो स्कुल जीवनका अविस्मरणीय अनुभव भिडियो बनाएर साझा गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन भिडियोमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ। भिडियोमा शिक्षकबाट पाएको प्रेरणा, साथीभाइसँगको सम्बन्ध, पढाइको महत्व, गरिबी वा चुनौतीसँगको संघर्ष, स्कुलका रमाइला क्षण, सपना र लक्ष्यजस्ता विषय समेट्न सकिने निर्माण टिमले जनाएको छ।

भिडियो १ देखि ३ मिनेटभित्रको हुनुपर्नेछ भने सिर्जनात्मक, भावुक र स्पष्ट प्रस्तुति आवश्यक रहनेछ। सबै उमेर समूहका व्यक्तिले प्रतियोगितामा भाग लिन सक्नेछन्।

सहभागीहरूले भिडियो टिकटक, फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्न सक्नेछन्। पोस्ट गर्दा फिल्मको आधिकारिक फेसबुक पेज र टिकटक अकाउन्टलाई ट्याग गर्नुपर्नेछ भने निर्माण टिमले तोकेका ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

प्रतियोगिताको विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै, २० जना सहभागीलाई सान्त्वना स्वरूप ‘रोल नं १’को टिकट प्रदान गरिनेछ। विजेताको घोषणा जेठ २५ गते गरिने निर्माण टिमले जनाएको छ।

निर्माता विनोद पौडेल को निर्माण रहेको ‘रोल नं १’ विद्यार्थीको मनोविज्ञानमा आधारित फिल्म हो। फिल्मले वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असर र त्यसले जीवनमा ल्याउने प्रभावलाई कथामार्फत प्रस्तुत गर्ने बताइएको छ।

जोन योञ्जन को निर्देशनमा बनेको फिल्ममा मुकुन भुषाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिनेछन्।

फिल्मका लेखक महेश दवाडी हुन् भने छायांकन शिवराम श्रेष्ठले गरेका छन्। संगीत प्रशान्त शिवाकोटीको रहेको फिल्ममा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ। सम्पादन मदन घिमिरेले गरेका हुन्।

निर्माण टिमका अनुसार ‘रोल नं १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्दैछन्।

सम्बन्धित समाचार

सबै