निर शाह निर्देशित ‘कमला मिस’को टिजर सार्वजनिक

0 Shares

काठमाडौं, जेठ ०७ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथामा आधारित फिल्मको टिजरले दर्शकमाझ कौतुहलता र प्रतीक्षा दुवै बढाएको छ ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित फिल्म ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरमा रहस्य, मानसिक द्वन्द्व र भावनात्मक उतारचढावलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यस फिल्ममार्फत फरक शैलीको कथा दर्शकमाझ ल्याउने प्रयास गरेका छन् । उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

फिल्ममा निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसीसंजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको हो । उमेश मल्ल, चैतन्य प्रधान, रमेश बाबु श्रेष्ठराम भट्टराई कार्यकारी निर्माता रहेका छन् । लाइन प्रोड्युसरको जिम्मेवारी पुष्कर लामाले सम्हालेका छन् ।

फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलालसुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् ।

फिल्म ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्टएफडी कम्पनीले लिएका छन् ।

सम्बन्धित समाचार

सबै