‘ऊनको स्वीटर’ सर्वोत्कृष्ट फिल्म घोषित, विपिन र जसिता बने उत्कृष्ट अभिनेता-अभिनेत्री

0 Shares

काठमाडौं । तेस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०८३ को अवार्ड समारोहमा चलचित्र ऊनको स्वीटरले उत्कृष्ट फिचर फिल्मसहित सर्वाधिक अवार्ड हात पारेको छ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा फिल्मले शीर्ष सम्मानसहित विभिन्न विधामा सफलता हासिल गरेको हो।

उक्त फिल्मबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे।

यसैगरी चलचित्र जेरी अन टपबाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन्। अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ।

कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गरे भने उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङलाई दिइयो। उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ह्याप्पिनेसले जितेको छ। त्यस्तै ‘कर्णाली भिजनरी अवार्ड’बाट सन्तोष सेन सम्मानित भएका छन्।

अवार्ड पाएपछि जसिता गुरुङले आफ्नो पहिलो अवार्ड दर्शकप्रति समर्पित गरेकी थिइन्। पल शाहले यो सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए भने नवीन चौहानले पहिलो फिल्मबाटै प्राप्त सफलताले आफू उत्साहित भएको बताए।

महोत्सवको प्रमुख आकर्षण ‘इतिहासलाई फर्केर हेर्दा – पहिलो चलचित्र अवार्ड संवाद’ कार्यक्रम रह्यो, जसमा वरिष्ठ कलाकार तथा विज्ञहरूको उपस्थिति थियो।

महोत्सव निर्देशक चक्र बहादुर चन्दका अनुसार कर्णालीको कला, संस्कृति र पर्यटनलाई फिल्ममार्फत विश्वसामु चिनाउनु नै महोत्सवको मुख्य उद्देश्य हो।

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न कलाकार, निर्माता तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै