काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७औं स्थापना दिवसको अवसरमा ७ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संघले जेठ ७ गतेलाई राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ।
काठमाडौँको लिसारा रिसेप्सनमा बिहीबार आयोजित समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ अनन्त वाग्लेलाई प्रदान गरिएको छ। उक्त सम्मानसँगै उनलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि प्रदान गरिएको थियो।
त्यसैगरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३’ जयन सुब्बा मानन्धर र कुबेरराज गिरीलाई प्रदान गरियो। ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ वैकुण्ठराज पराजुलीले प्राप्त गरे भने ‘स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ सुरक्षा भट्टराईलाई प्रदान गरिएको छ।
‘प्रोत्साहन सम्मान २०८३’ अन्तर्गत २५ हजार रुपैयाँसहित मिलन ढुंगानालाई सम्मान गरिएको संघले जनाएको छ। कार्यक्रममा स्वर्गीय दिनेश सिटौलाप्रति विशेष श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथि रहेका थिए। अभिनेता राजेश हमाल, अभिनेत्री करिष्मा मानन्धर, तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ मर्यादित र सशक्त बनाउनुपर्नेमा जोड दिए। महासचिव गोपिकृष्ण चापागाईंले विभिन्न पुस्ताका पत्रकारलाई सम्मान गरिएको जानकारी दिए।
कार्यक्रममा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सांस्कृतिक प्रस्तुति र सम्मान समारोहले कार्यक्रमलाई विशेष बनाएको थियो।