‘एलिफेन्ट्स इन द फग’को ऐतिहासिक सफलता: कान्स विजेता टिमलाई सरकारले स्वागत र सम्मान गर्ने

0 Shares

काठमाडौं । प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली फिल्म एलिफेन्ट्स इन द फग को टोलीलाई सरकारले औपचारिक रूपमा स्वागत तथा सम्मान गर्ने भएको छ।

प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले जानकारी दिँदै यो उपलब्धि केवल अवार्ड मात्र नभई नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय पहिचान र सम्भावनाको प्रमाण भएको बताएका छन्। उनका अनुसार सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले संयुक्त रूपमा टोलीलाई सम्मान गर्ने तयारी गरिएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्म टोलीलाई सोमबार बिहान विमानस्थलमा स्वागत गरिने र एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्।

फिल्मले कान्सको ‘अन सर्टेन रिगार्ड’ (Un Certain Regard) विधामा जुरी प्राइज जित्दै नेपालका लागि ऐतिहासिक उपलब्धि दिलाएको हो।

निर्देशक अविनाशविक्रम शाह निर्देशित यस फिल्मले अन्तर्राष्ट्रिय फिल्म म्यागजिनहरूबाट समेत प्रशंसा पाएको छ।

यसैबीच, आगामी काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ) ले निर्देशक शाहलाई प्यानल छलफलका लागि आमन्त्रण गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

सबै