गत जेठ ८ गतेदेखि देशभर प्रदर्शनरत फिल्म काजी को असारे भाका समेटिएको नयाँ गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक गरिएको छ। प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशन रहेको गीतमा रचना रिमाल र स्वयं सिवाकोटीको स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा र संदीप बाबु लोहनी लगायतलाई रोपाइँको परिवेशमा प्रस्तुत गरिएको छ। भिडियोमा कविराज गहतराज को कोरियोग्राफी आकर्षक देखिन्छ भने गीतको अडियो पक्षलाई पनि बलियो मानिएको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘काजी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ। उत्कृष्ट प्रतिक्रिया पाएसँगै अभिनेता विपिन कार्की अहिले प्रचार–प्रसारमा सक्रिय देखिएका छन्। उनी विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। हलमा धेरै दर्शकले ‘काजी २’ निर्माण गर्न माग गरिरहँदा विपिनले दर्शकको माया र साथ रहे सिक्वेल बन्न सक्ने संकेत दिने गरेका छन्।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्। राम प्रसाद रिजाल को प्रस्तुतिमा बनेको फिल्मले ग्रामीण परिवेश, सम्बन्ध र भावनात्मक कथालाई पर्दामा उतारेको निर्माण पक्षको दाबी छ।
फिल्ममा असिम काफ्ले कार्यकारी निर्माता रहेका छन्। चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटा को संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रकाश हमालको प्रोडक्सन हेड, विपीन मल्लको सम्पादन तथा बनिश शाहको सुपरभाइजर सम्पादन रहेको छ।
प्रदीप भारद्धाज को कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल र विकाशराज जोशी रहेका छन्।