काठमाडौं । निर्देशक ओम प्रतीकको नयाँ नेपाली फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमध्ये पहिलो पोस्टरमा ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा तनावपूर्ण तथा रिसाहा भावमा प्रस्तुत भएका छन्। पात्रहरूबीचको सम्बन्धमा आएको दरार र द्वन्द्वलाई पोस्टरले संकेत गरेको छ। पोस्टरको पृष्ठभूमिमा घरको दैलोमा थाल बोकेर बसेका दुई महिलाको दृश्यले महिलाले भोग्नुपरेको पीडा र सामाजिक यथार्थलाई चित्रण गरेको देखिन्छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। फिल्मले समाज परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन सक्छ भन्ने सशक्त सन्देश दिने दाबी गरिएको छ।
यसअघि व्यावसायिक रूपमा सफल फिल्म ‘मोहर’ निर्देशन गरेका ओम प्रतीकले यस पटक पनि सामाजिक विषयवस्तुमाथि आधारित कथा प्रस्तुत गरेका हुन्। फिल्मको कथा तथा निर्देशन स्वयं ओम प्रतीककै रहेको छ।
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि मुख्य भूमिकामा देखिएका छन्।
फिल्मको विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुत गरेका छन्। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। अन्य गीतमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा विपिन मल्लको सह–सम्पादन रहेको छ। संगीतमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाज रहेका छन्।
कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।