‘गौँथली’को टिजर सार्वजनिक, वैवाहिक पीडा र आमाको ममतामय संघर्षको कथा

0 Shares

काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ। मुख्य पात्रहरूको जीवनयात्रा र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर तयार गरिएको टिजरले फिल्मको मूल कथावस्तु उजागर गरेको छ।

टिजरमा छोरीको सुखी घर–परिवार बसाल्न आमाले गरेको अथक प्रयास, विवाहपछिको जीवनमा छोरीले भोग्नुपरेका कठिनाइ तथा श्रीमान्को अप्रत्याशित व्यवहारका कारण उत्पन्न परिस्थितिहरू प्रस्तुत गरिएको छ।

पढाइलाई निरन्तरता दिन चाहँदाचाहँदै कम उमेरमै विवाह गर्न बाध्य भएकी युवती, आफूले इमान्दार र असल ठानेको श्रीमान्को वास्तविक चरित्रसँग सामना गर्नुपरेको अवस्था तथा जन्मदिने आमाको काख छोडेर कर्मघर पुगेपछि भोग्नुपरेका पीडाहरूले टिजरलाई भावनात्मक बनाएको छ।

जीवनका महत्वपूर्ण निर्णयहरू अपेक्षाविपरीत हुँदा त्यसले व्यक्तिको भविष्यलाई कसरी प्रभावित गर्न सक्छ भन्ने सन्देश टिजरले दिएको छ। आमाको ममता, सासु–बुहारी सम्बन्धको जटिलता र वैवाहिक जीवनका चुनौतीहरूलाई टिजरले संवेदनशील ढंगले चित्रण गरेको छ।

फिल्ममा अरुण क्षेत्रीले श्रीमान्को तथा सिम्रन खड्काले श्रीमतीको भूमिका निर्वाह गरेका छन्। अरुणको असामान्य व्यवहार र सिम्रनले निभाएको संघर्षरत पात्रले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ।

निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी आत्मीयताको प्रतीकात्मक अर्थ बोकेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन्। सुमन गिरी र डा. कपिल रिजाल निर्माता तथा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेका छन्।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले दिएका छन्। छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक छन्। मुकेश शाहले ध्वनि मिश्रण, राजेन्द्र मोक्तानले रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीले कोरियोग्राफी गरेका छन्।

‘गौँथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।

उल्लेखनीय रूपमा, डा. भोला रिजालले करिब दुई दशकअघि ‘गौँथली’ नामकै फिल्म निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। उक्त फिल्मले प्रदर्शनको ५१औँ दिनसम्म सफल प्रदर्शन गरेको थियो।

यसपटक सोही नामलाई निरन्तरता दिँदै डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै ‘गौँथली’ निर्माण गरेका हुन्।

सम्बन्धित समाचार

सबै