काठमाडौं । मिथिला संस्कृति, परम्परा र महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सौन्दर्य प्रतियोगिता ‘मिस मिथिलानारी नेपाल २०२६’ आयोजना हुने भएको छ। आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो।
‘द ब्युटी अफ मिथिला’ नारासहित आयोजना हुन लागेको प्रतियोगिताले मिथिला संस्कृति, भाषा, पहिचान तथा महिलाको नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख हरिश जायसवालले प्रतियोगिताको उद्देश्य, कार्यक्रमका विशेषता, अडिसन प्रक्रिया तथा आगामी गतिविधिबारे जानकारी दिए। उनका अनुसार ‘मिस मिथिलानारी नेपाल’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई मिथिला क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता र सशक्तीकरणलाई प्रोत्साहन गर्ने अभियान पनि हो।
“मिथिला समुदायलाई केन्द्रमा राखेर यस प्रकारको प्रतियोगिता यसअघि आयोजना भएको थिएन। यसले मिथिला नारीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने, पहिचान स्थापित गर्ने तथा नयाँ अवसर प्राप्त गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्नेछ,” जायसवालले बताए।
आयोजकका अनुसार प्रतियोगिताका लागि आवेदन खुला भइसकेको छ। इच्छुक सहभागीहरूले ई–सेवा एपमार्फत आवेदन दिन सक्नेछन्। साथै, अडिसन यही जेठ १६ गते जनकपुरमा आयोजना गरिनेछ भने त्यसपछि काठमाडौंमा पनि अडिसन सञ्चालन हुनेछ।
डिजिटल माध्यमबाट आवेदन दिन नसक्ने सहभागीहरूले अडिसन स्थलमै उपस्थित भई सोही दिन फारम भर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा मिथिला समुदायका महिलामात्र नभई सम्पूर्ण नेपाली महिलाले सहभागिता जनाउन सक्नेछन्। मिथिला भाषा र संस्कृतिबारे सामान्य ज्ञान भएका इच्छुक व्यक्तिहरूलाई पनि सहभागिताका लागि आह्वान गरिएको छ।
आयोजकले प्रतियोगितामार्फत मिथिला संस्कृतिको संरक्षण, प्रवर्द्धन र महिला सशक्तीकरणलाई राष्ट्रिय स्तरमा थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।