बेइजिङ अन्तर्राष्ट्रिय महोत्सवका अवार्ड विजेता ६ चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन हुने

0 Shares

काठमाडौं । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत तथा प्रशंसित चिनियाँ फिल्महरू आगामी जुन २ देखि ४ सम्म काठमाडौंमा प्रदर्शन गरिने भएका छन्।

‘टियानतान अवार्ड प्यानोरामा’ कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको विशेष प्रदर्शनमा ६ अवार्ड विजेता चिनियाँ फिल्म नेपाली दर्शकमाझ प्रस्तुत गरिनेछ।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पहलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रमलाई काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतका कन्फुसियस इन्स्टिच्युटहरूले सहयोग गरेका छन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अनुसार ठमेलस्थित छायाँ सेन्टरमा सबै फिल्म सशुल्क प्रदर्शन गरिनेछ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले यस कार्यक्रमले नेपाली र चिनियाँ फिल्मकर्मीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार पछिल्लो समय चिनियाँ पक्ष नेपाली फिल्म बजारप्रति आकर्षित हुँदै गएको छ, जसले नेपाली फिल्मकर्मीहरूका लागि चीनसँग सहकार्य र अवसर विस्तार गर्ने वातावरण सिर्जना गरेको छ।

“यस्ता कार्यक्रमले दुई देशका फिल्मकर्मीबीच सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउँछन्। साथै, नेपाली फिल्मलाई चीनजस्तो विशाल बजारमा प्रवेश गराउने दिशामा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन्,” अध्यक्ष पाठकले बताए।

जुन २ (जेठ १९) मा प्रदर्शन हुने फिल्म

कार्यक्रमको पहिलो दिन तीन फिल्म प्रदर्शन गरिनेछन्।

बिहान ११:३० बजे प्रदर्शन हुने ‘ट्रयाप्ड’ (Trapped) सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध लागू हुनुअघि जेलबाट फरार भएका एक गुण्डाले सहरमा सिर्जना गरेको आतंकको कथामा आधारित क्राइम–थ्रिलर फिल्म हो। सागर झाङ निर्देशित यस फिल्मले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र उत्कृष्ट सह–अभिनेता अवार्ड जितेको थियो। निर्देशक झाङसँग दर्शकहरूको प्रश्नोत्तर कार्यक्रम पनि आयोजना गरिनेछ।

दिउँसो ३ बजे प्रदर्शन हुने ‘बियोन्ड द स्काइज’ (Beyond the Skies) निर्देशक झिहाई लिउको युद्ध कथामा आधारित फिल्म हो।

साँझ ५ बजे प्रदर्शन हुने ‘समर डायरी’ (Summer Diary) निर्देशक वु शुआङको फिल्म हो, जसले आमाको खोजीमा निस्किएको एक पात्रको भावनात्मक यात्रालाई चित्रण गर्छ।

जुन ३–४ (जेठ २०–२१) मा प्रदर्शन हुने फिल्म

रुई कुई र सियाङ लिउ निर्देशित ‘लस्ट इन द स्टार्स’ (Lost in the Stars) हराएकी गर्भवती महिलाको रहस्यमय घटनामा आधारित थ्रिलर फिल्म हो।

झाङ लु निर्देशित ‘द स्याडोलेस टावर’ (The Shadowless Tower) प्रेमकथामा आधारित फिल्म हो, जसले मानवीय सम्बन्धका जटिल पक्षलाई उजागर गर्छ।

दाशाङ कोङ निर्देशित साइन्स–फिक्सन फिल्म ‘जर्नी टु द वेस्ट’ (Journey to the West) एलियनको खोजीको कथामा आधारित छ। व्यंग्यात्मक वृत्तचित्र शैलीमा निर्माण गरिएको यस फिल्मले विज्ञान, कल्पना र सामाजिक टिप्पणीलाई एकसाथ प्रस्तुत गर्छ।

आयोजकका अनुसार कार्यक्रमले नेपाली दर्शकलाई समकालीन चिनियाँ फिल्मकला, कथावाचन शैली र सांस्कृतिक विविधतासँग परिचित गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै