काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेसँगै फिल्मका सबै प्रमुख महिला कलाकारहरू फाइनल भएका छन्।
यसअघि अभिनेत्रीका रूपमा रिश्ता गुरुङ र निकिता आचार्य अनुबन्ध भइसकेका थिए। मलिका महतको प्रवेशसँगै फिल्मको हिरोइन लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
निर्देशक तथा निर्माता चन्द्र पन्तले आइतबार मलिका महतलाई औपचारिक रूपमा अनुबन्ध गरेका हुन्। दर्शकमाझ पल शाहसँग मलिका महतको जोडी देख्न चाहने चर्चा लामो समयदेखि चल्दै आएको थियो, जसअनुसार अब उनीहरू एउटै फिल्ममा देखिने भएका छन्।
फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्कालगायत कलाकारहरूको अभिनय रहनेछ।
निर्देशक पन्त स्वयंले फिल्मको कथा तथा पटकथा लेखेका हुन्। केही साताभित्रै छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्म आगामी दसैं (असोज ३०) मा प्रदर्शनमा आउने तय भएको छ।
फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार पनि विस्तार भइरहेको निर्माण पक्षले जनाएको छ। अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री भइसकेको छ, जहाँ डोको फिल्म्सले उच्च मूल्यमा अधिकार खरिद गरेको बताइएको छ।
नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ले करिब १४ करोड रुपैयाँको बक्स अफिस कलेक्सन गर्दै सफल प्रदर्शन गरेको थियो। सोही कथालाई निरन्तरता दिँदै निर्देशक पन्तले यसको सिक्वेल निर्माण गर्न लागेका हुन्।