काठमाडौं । विद्यार्थी लक्षित चलचित्र ‘रोल नं १’लाई विद्यार्थीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। स्कुल जीवन, परीक्षा प्रणाली र बाल मनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले विद्यार्थी दर्शकको मन जितेको निर्माण पक्षले जनाएको छ।
निर्माता विनोद पौडेलका अनुसार फिल्म हेरेका विद्यार्थीहरूले यसलाई आफूजस्ता सबै विद्यार्थीले हेर्नुपर्ने सिनेमा भनेर प्रतिक्रिया दिएका छन्। उनले फिल्म निर्माणको उद्देश्य पूरा भएको बताउँदै विद्यार्थी दर्शकको प्रतिक्रिया निकै उत्साहजनक रहेको उल्लेख गरे।
“हामीले जुन उद्देश्यले यो फिल्म बनाएका थियौँ, त्यो पूरा भएको छ,” निर्माता पौडेलले भने, “विद्यार्थीहरूले नै सबै विद्यार्थीले हेर्नुपर्ने सिनेमा भनेर प्रतिक्रिया दिएकाले अब अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई हलमा लगेर देखाउनुपर्छ।”
उनका अनुसार फिल्मले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध तथा शैक्षिक मूल्यांकन प्रणालीले सिर्जना गर्ने मानसिक दबाबलाई उजागर गरेको छ। बाल मनोविज्ञान र शिक्षण प्रणालीबीचको असन्तुलनलाई कथावस्तुमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको उनले बताए।
निर्माता पौडेलले विद्यार्थी, शिक्षक र अभिभावक सँगै बसेर हेर्नुपर्ने सिनेमा ‘रोल नं १’ भएको भन्दै यसको सामाजिक सन्देश महत्वपूर्ण रहेको बताए।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्ममा दर्शक भेट्न कलाकारहरू देशभरका हलहरूमा पुगेका छन्। केही कलाकार मोफसल र केही काठमाडौंका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
जोहन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी प्रमुख भूमिकामा छन्। बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ।
विनोद पौडेल र जान्वी पौडेलको निर्माण रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माता छन्। फिल्मको कथा महेश दवाडीले लेखेका हुन् भने छायांकन शिवराम श्रेष्ठले गरेका हुन्।