उत्तम प्रधान–निरुता सिंह अभिनित ‘सारथी’को छायांकन सम्पन्न

0 Shares

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह अभिनीत फिल्म ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सम्पन्न भएको छ। गत वैशाख १५ गतेदेखि सुरु भएको छायांकन एक महिनाभित्र सम्पन्न गर्दै निर्माण टिम काठमाडौं फर्किएको छ।

निर्देशक कुमार गजुरेलका अनुसार फिल्मको अब काठमाडौंमा एक दिनको मात्र छायांकन बाँकी छ। बाँकी काम सम्पन्न गरेपछि फिल्म पोस्ट–प्रोडक्सनमा प्रवेश गर्नेछ। पोस्ट–प्रोडक्सन सम्पन्न भएलगत्तै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेलले जानकारी दिए।

म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुर्जा क्षेत्रमा छायांकन सम्पन्न गरेको निर्माण टिम उत्साहित देखिएको छ। सामाजिक कथावस्तुमा आधारित फिल्मले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घर, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनोरम दृश्यलाई पर्दामा उतारेको छ।

फिल्मको विशेष आकर्षणका रूपमा करिब दुई दशकपछि वरिष्ठ कलाकार उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन रहेको छ। लामो समयपछि यी दुई कलाकारलाई एउटै पर्दामा देख्न पाइने भएकाले दर्शकमाझ फिल्मप्रति विशेष उत्सुकता रहेको निर्माण टिमको विश्वास छ।

निर्देशक गजुरेलका अनुसार ‘सारथी’ले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फिल्ममा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तानलगायत कलाकारहरूको अभिनय रहेको छ।

किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन्। धीरज तामाङ र बेकबहादुर विश्वकर्मा सहनिर्माता, प्रदीप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर रहेका छन्। फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन्।

सम्बन्धित समाचार

सबै