‘लज्जावती’को इन्डक्ल्याप गर्दै साउन २९ गतेलाई प्रदर्शन मिति घोषणा

0 Shares

काठमाडौँ । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ। निर्माण टिमले इन्डक्ल्याप गर्दै फिल्म आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने घोषणा गरेको हो।

गतसाता काठमाडौंको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य खिच्दै ४५ दिनको छायांकन यात्रा सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। सम्पूर्ण छायांकन सकिएसँगै फिल्म पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गरेको छ।

निर्माण टिमका अनुसार साउन २९ गतेका लागि हालसम्म कुनै नेपाली फिल्मले औपचारिक रूपमा प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ले सोलो रिलिजको अवसर पाउने अपेक्षा गरिएको छ।

आहा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सौरभ वली प्रस्तुतकर्ता रहेका छन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता हुन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माताको रूपमा आबद्ध छन्।

फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ।

दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै