काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड प्राप्त तथा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्महरूको विशेष प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलबारदेखि सुरु भएको छ।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पहलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘टियानतान अवार्ड प्यानोरामा’ कार्यक्रम निर्देशक सागर झानको फिल्म ‘ट्रयाप्ड’ प्रदर्शनसँगै उद्घाटन गरिएको हो।
ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, नेपाल कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, अभिनेता प्रमोद अग्रहरीलगायत चलचित्र क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्षले यस्ता सांस्कृतिक आदान–प्रदानका कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले चिनियाँ बजारमा नेपाली फिल्मको वितरण तथा प्रदर्शनका लागि समेत यस्ता सहकार्य उपयोगी हुने बताए।
मिनिस्टर काउन्सिलर चउ पानले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाज, संस्कृति र जीवनशैली बुझ्ने महत्वपूर्ण साधन भएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले दुई देशका नागरिक र चलचित्रकर्मीबीचको सम्बन्धलाई थप नजिक बनाउने विश्वास व्यक्त गरे।
वरिष्ठ निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्मको पहुँच विस्तारका लागि सहकार्य र सहजीकरण आवश्यक रहेको धारणा राखे।
उद्घाटन सत्रपछि प्रदर्शन गरिएको फिल्म ‘ट्रयाप्ड’ का निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीहरूले अन्तरक्रिया गरेका थिए। निर्देशक झानले आफ्नो किशोरावस्थाका अनुभव र स्मृतिबाट प्रेरित भएर फिल्म निर्माण गरेको बताए। उनले फिल्मको कथा भने पूर्ण रूपमा काल्पनिक रहेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी दर्शकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। एक चिनियाँ दर्शकले विदेशमा आफ्नै भाषाको फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरिन् भने नेपाली दर्शकहरूले पनि फिल्मको कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन्।
काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतका कन्फुसियस इन्स्टिच्युटहरूको सहयोग रहेको यो कार्यक्रम बिहीबारसम्म छाया सेन्टरमा सञ्चालन हुनेछ।
कार्यक्रमको पहिलो दिन ‘ट्रयाप्ड’सँगै ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ समेत प्रदर्शन गरिएको थियो।
