काठमाडौं । प्रदर्शनको पहिलो दिनदेखि सकारात्मक प्रतिक्रिया बटुलिरहेको फिल्म ‘रोल नं १’ले अब व्यापारिक रूपमा पनि गति लिन थालेको छ। केही सिनेमा हलका शो प्रदर्शन हुनुभन्दा २४ घण्टाअघि नै हाउसफूल हुन थालेपछि फिल्मले बक्स अफिसमा बलियो उपस्थिति जनाउन थालेको संकेत देखिएको छ।
देशभरका विभिन्न हलमा प्रदर्शनरत फिल्मका कतिपय शो अग्रिम बुकिङमै भरिएका छन् भने केही शो ‘फिलिङ फास्ट’ अवस्थामा पुगेका छन्। विशेषगरी विद्यालयहरूले पूरै शो बुक गरेर विद्यार्थीलाई फिल्म देखाउन लैजान थालेपछि दर्शक संख्या उल्लेखनीय रूपमा बढ्न थालेको निर्माण टिमले जनाएको छ।
निर्माता विनोद पौडेलका अनुसार फिल्मले प्राप्त गरेको सकारात्मक ‘वर्ड अफ माउथ’ अहिले व्यापारमा रूपान्तरण हुन थालेको छ।
“फिल्म हेर्ने दर्शकबाट आएको राम्रो प्रतिक्रियाले प्रभाव देखाउन थालेको छ। केही विद्यालयहरूले आफ्ना विद्यार्थीलाई फिल्म देखाउन ल्याइरहेका छन्, जसका कारण कतिपय शो एक दिनअघि नै हाउसफूल भएका छन्,” पौडेलले बताए।
उनका अनुसार विद्यार्थी, शिक्षक र अभिभावकले अनिवार्य रूपमा हेर्नुपर्ने फिल्मका रूपमा ‘रोल नं १’ को चर्चा बढ्दै जाँदा दर्शक संख्या निरन्तर उकालो लागिरहेको छ।
“सबैतिरबाट राम्रो प्रतिक्रिया आइरहेको छ। दर्शकले यो हेर्नैपर्ने फिल्म हो भनिरहेका छन्। त्यसैले हलमा आउने दर्शकको संख्या दिनप्रतिदिन बढिरहेको छ,” उनले भने।
निर्माता पौडेलको अघिल्लो सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि सकारात्मक प्रतिक्रियाकै बलमा चौथो दिनदेखि हाउसफूल हुन थालेको थियो। विद्यालय र गाउँ–गाउँबाट समूहगत रूपमा दर्शक हलमा पुगेपछि उक्त फिल्मले ऐतिहासिक व्यापार गरेको थियो।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘रोल नं १’लाई जोन योञ्जनले निर्देशन गरेका हुन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवनराज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्मित फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सहनिर्माताका रूपमा रहेका छन्। महेश दवाडीको लेखन तथा शिवराम श्रेष्ठको छायांकन रहेको ‘रोल नं १’ हाल देशभरका विभिन्न सिनेमा हलमा प्रदर्शनरत छ।