काठमाडौँ । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ले नयाँ आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियानलाई तीव्र बनाएको छ। व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा निर्माण भएको फिल्मको तेस्रो पोस्टर सार्वजनिक भएसँगै यसको चर्चा पनि बढ्न थालेको निर्माण पक्षले जनाएको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक जीवनका घटनाबाट प्रेरित कथामा आधारित छ। फिल्मले समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एक श्रमजीवी हलीको भूमिका पनि पर्याप्त हुन सक्छ भन्ने सशक्त सन्देश बोकेको निर्माण टिमको दाबी छ।
सार्वजनिक पोस्टरमा ग्रामीण जीवन, कृषि संस्कृति र श्रमजीवी वर्गको संघर्षलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोकोसहित गम्भीर मुद्रामा देखिएकी एक महिलाको चित्रले नेपाली गाउँघरको यथार्थ झल्काउँछ। पोस्टरको पृष्ठभूमिमा परम्परागत पहाडी बस्ती र त्यहाँको जीवनशैलीलाई समेत चित्रण गरिएको छ।
फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक हुन्। उनले सामाजिक यथार्थ र श्रमको सम्मानलाई केन्द्रमा राखेर कथा निर्माण गरिएको बताएका छन्।
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतिक स्वयंको अभिनय रहेको छ।
फिल्मको विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने अन्य गीतहरूमा ओम प्रतिक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।
अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा नम्रता भण्डारी सह–निर्मात्री, लक्ष्मण बज्राचार्य लाइन प्रोड्युसर तथा जीवननाथ गौतम मुख्य सहायक निर्देशक रहेका छन्। राहुल राईको छायांकन तथा रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन रहेको फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ।
निर्माता जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको छ। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।