काठमाडौं । चलचित्र ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण टिमले आज नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने घोषणा गरेको हो।
समीर राईको निर्माणमा तयार भएको फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन्। टौवा क्रियशनको ब्यानरमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा अधिकांश कलाकारहरू फरक–फरक अवतारमा देखिएका छन्, जसले फिल्मको कथावस्तुबारे कौतूहल थपेको छ।
पोस्टरमा रातो रंगको प्रभावशाली प्रयोग गरिएको छ, जसले फिल्म सस्पेन्स थ्रिलर जनरामा आधारित रहेको संकेत गर्छ।
फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसी मुख्य भूमिकामा छन्। सार्वजनिक पोस्टरमा कलाकारहरूको आ–आफ्नै रहस्यमय मुड प्रस्तुत गरिएको छ।
सहायक भूमिकामा सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
प्राविधिक पक्षमा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर रहेको छ।