काठमाडौं । छैटौं ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ मा निर्देशक दिनेश लिङ्देनले ‘सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जितेका छन्। नेपाल आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र विकास बोर्डमा आयोजना गरेको महोत्सवमा लिङ्देनले लिम्बु भाषाको फिल्म ‘रीत’बाट उक्त सम्मान प्राप्त गरेका हुन्।
उनको फिल्म ‘रीत’ले ‘पब्लिक च्वाइस अवार्ड’ पनि जितेको छ। महोत्सव गत जेठ १७ देखि जेठ १९ गतेसम्म सञ्चालन भएको थियो।
महोत्सवमा गुरुङ भाषाको फिल्म ‘ङोल्स्यो रामरानी’ले ‘सर्वोत्कृष्ट फिल्म’को अवार्ड जितेको छ। त्यसैगरी मगर फिल्म ‘दिलसारा’बाट कल्याण राना मगर ‘सर्वोत्कृष्ट नायक’ घोषित भएका छन्।
नेवारी फिल्म ‘स्वयङ्गु’बाट भिन्तुना श्रेष्ठले ‘सर्वोत्कृष्ट नायिका’को अवार्ड जितेकी छन् भने तामाङ फिल्म ‘ह्याङ तामाङ’बाट सूर्य लामाले ‘सर्वोत्कृष्ट छायांकार’को सम्मान प्राप्त गरेका छन्।
त्यसैगरी मगर भाषाको ‘लाहुरेनी’ले ‘सर्वोत्कृष्ट लघु चलचित्र’को अवार्ड जित्दा वृत्तचित्र ‘आग्रे’ले वृत्तचित्र विधामा सम्मान प्राप्त गरेको छ।
महोत्सवमा लिम्बु, राई, थारु, गुरुङ, मगर, तामाङ, भुजेललगायत विभिन्न जातजातिका भाषा, संस्कृति र कलामा आधारित फिल्म, वृत्तचित्र तथा लघु चलचित्रहरूको प्रदर्शन गरिएको थियो।