काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाः एक योद्धा’ले चार नयाँ कलाकारको नाम सार्वजनिक गरेको छ। छायांकन सम्पन्न गरेर पोस्ट–प्रोडक्सन चरणमा रहेको फिल्मले आफ्नो पब्लिसिटी रणनीतिअन्तर्गत कलाकार सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवी थापालाई रिबिल गरेको हो।
निर्माण टिमले पोस्ट–प्रोडक्सनको काम सुरु भइसकेपछि पनि यी कलाकारको संलग्नता गोप्य राखेको थियो। यसअघि फिल्मका मुख्य कलाकारका रूपमा अभिनेत्री झरना थापा, सुहाना थापा तथा अभिनेता दिव्यदेव पन्तको नाम सार्वजनिक भइसकेको थियो।
नवनिर्मित कलाकारहरूको उपस्थितिले फिल्मको कलाकार टोली थप बलियो बनेको निर्माण पक्षको विश्वास छ। सागर खनाल ‘११:५५’ फिल्मबाट चर्चित भएका अभिनेता हुन् भने शिशिर सिवाकोटीले ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट प्रशंसा बटुलेका छन्।
संगीतकार, रचनाकार तथा गायक हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शन हुने फिल्मको कथावस्तु र रिलिज मिति एकअर्कासँग मेल खाने गरी तय गरिएको निर्माण टिमले जनाएको छ।
नेपाली संगीत क्षेत्रमा दर्जनौं कालजयी गीत सिर्जना गरिसकेका हरि लम्सालका लागि यो पहिलो निर्देशकीय फिल्म हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्साल स्वयंले तयार गरेका हुन्।
फिल्मका निर्माता वसन्त लम्साल हुन्। उनले यसअघि अभिनेता विपीन कार्की अभिनीत फिल्म ‘कर्मा’ निर्माण गरेका थिए।
‘बाः एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीहरूको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।