काठमाडौं । किस्ट शिक्षण अस्पतालले क्यान्सर उपचार सेवा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाएको छ। अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा. विष्णु दत्त पौडेलले गरिरहनुभएको छ।
अस्पतालमा क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञलगायत अनुभवी चिकित्सकहरूको सशक्त टोलीमार्फत टाउकोदेखि खुट्टासम्म देखिने विभिन्न प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा प्रदान हुँदै आएको छ।
किस्ट क्यान्सर केन्द्रले भारतस्थित मेदान्ता गुरुग्रामसँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय (सेकेन्ड ओपिनियन) तथा टेलि–परामर्श सेवा पनि उपलब्ध गराउँदै आएको छ। अस्पतालका अनुसार यस सहकार्यले नेपाली क्यान्सर बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
यसैबीच, मेदान्ता गुरुग्रामका प्रख्यात क्यान्सर रोग विशेषज्ञ डा. सत्य पाल कटारिया विशेष अतिथि वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँको उपस्थितिमा दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूका साथै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट आएका वरिष्ठ चिकित्सक र चिकित्सा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरेका थिए।
अस्पतालले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय सहकार्य विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा आधुनिक उपचार प्रणालीमार्फत नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।