चलचित्र गौँथली को नयाँ गीत ‘आँखा भरी आँसु’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा निर्माण टिमले गीतलाई परम्परागत विवाह झैँ भव्य शैलीमा प्रस्तुत गर्दै सार्वजनिक गरेको हो।
कार्यक्रममा मुख्य कलाकारहरू बेहुला–बेहुलीको भेषमा उपस्थित भए भने पञ्चे बाजा, जन्तीको झाँकी र नाचगानले स्थललाई वास्तविक विवाहजस्तै वातावरण दिएको थियो। तर अन्ततः यो विवाह नभई चलचित्रको गीत सार्वजनिक समारोह मात्र भएको स्पष्ट गरियो।
गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने संगीत पनि गौतमकै हो। शब्द रचना डा. भोला रिजालले गरेका हुन्।
गीतको भिडियोमा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला–बेहुलीको भूमिकामा देखिएका छन्, जसले कार्यक्रममा समेत सोही गेटअप दोहोर्याउँदै दर्शकको ध्यान तानेका थिए।
गीतले माइतीघर छोडेर पराइ घर जानुपर्ने परम्परागत सामाजिक बाध्यता, त्यसले निम्त्याउने भावनात्मक पीडा र परिवारसँगको बिछोडलाई केन्द्रमा राखेको छ। छोरीको विवाहपछि आउने वियोग र संस्कारगत दबाबलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ।
निर्देशक डा. कपिल रिजाल रहेको चलचित्र साउन १ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्माण पक्षका अनुसार ‘गौँथली’ नामले घर–परिवार र आपसी सम्बन्धको प्रतीकात्मक अर्थ बोकेको छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली देखिन्छन्।
कथा डा. भोला रिजालको हो भने पटकथा तथा संवादमा निर्देशक रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।