माओत्से गुरुङको ‘पेन्सन पट्टा’को बेलायत–हङकङ प्रदर्शन अधिकार बिक्री

0 Shares

वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङद्वारा निर्देशित चलचित्र पेन्सन पट्टा को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। चलचित्र सार्वजनिक हुनु अघि नै बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री भएपछि निर्माण टिम उत्साहित बनेको छ।

निर्देशक गुरुङका अनुसार चलचित्रको कुनै प्रचार सामग्री सार्वजनिक नहुँदै विदेशी बजारमा भएको यो प्रारम्भिक बिक्रीले सकारात्मक संकेत दिएको छ। बेलायतका लागि प्रदर्शन अधिकार सपन इन्टरटेनमेन्ट लिमिटेडले खरिद गरेको छ भने हङकङ अधिकार मेन ड्रागन लिमिटेडले प्राप्त गरेको छ।

निर्माण पक्षका अनुसार अन्य देशबाट पनि प्रदर्शन अधिकार खरिदका लागि प्रस्ताव आइरहेका छन् र ती सम्झौताहरू अन्तिम चरणमा पुगेका छन्।

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, पशुपति राई, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। साथै विश्वास र मायाले यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गरेका छन्।

कथा स्वयं निर्देशक माओत्से गुरुङले लेखेका हुन्। चलचित्रले शीर्षकले संकेत गर्ने जस्तो भूतपूर्व लाहुरेको कथाभन्दा फरक विषय उठान गरेको छ। निर्देशकका अनुसार कथा एक लोभी युवक कसरी समयसँगै दानी र परिवर्तनशील बन्छ भन्ने भावनात्मक यात्रामा केन्द्रित छ।

मीन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन छ। सम्पादन कियर कोइचले गरेका छन्।

सम्बन्धित समाचार

सबै